पौडिँदै टिकटक बनाइरहेका साथी डुबेपछि बचाउन खोज्दा अर्का युवकको पनि मृत्यु


रुपन्देही । रुपन्देहीमा सँगै पौडी खेल्न गएका साथी डुबेपछि उद्दार गर्न गएका अर्का युवकको पनि मृत्यु भएको छ । बुधबार दिउँसो गैडहवा गाउँपालिकास्थित गैडहवा तालमा स्थानीय पाँच युवाहरुको समूह गएको थियो ।
उनीहरुले टिकटक बनाउँदै पौडी खेलिरहेका थिए । पौडी खेल्न गएका सोही गाउँपालिकाको वडा नं १ असिधवाका १८ वर्षीय दिपेश थारु पौडने क्रममा डुबेपछि टिकटक बनाइरहेका उनका साथी १८ वर्षीय अरुण थारु उद्दारको लागि गएका थिए । तर अरुणले न त साथीको ज्यान बचाउन सके न त आफू बाहिर आउन सके ।
तालमा डुबेर दुवै जनाको मृत्यु भएको हो । गैडहवा–१ का वडाध्यक्ष प्रदीपकुमार चौधरीले पाँच जनाको समूहमा गएका युवाहरु टिकटक बनाउँदै पौडिदै गरेको समयमा एक जना डुबेको देखेपछि अर्को उद्दारका लागि गएको र दुवैको डुबेर मृत्यु भएको जानकारी दिए ।
‘उनीहरु गैडहवा तालमा पौडिदै टिकटक बनाउँदै रहेछन्, त्यहाँ गहिरो र तल माटो थियो, सायद तलको हिलोमा उनीहरुको खुट्टा गएको हुनुपर्छ, कि धेरै पौडिन नजानेकोले पनि हुनसक्छ’ उनले भने, ‘यहाँ धेरै पर्यटक आउने ठाउँ हो तर उनीहरु स्थानीय भए पनि यस्तो दुःखद घटना भयो, सिंगो गाउँ शोकाकुल भएको छ ।’
इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिउँसो करिब सबा ४ बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए । तर पहिले नै पानीमा डुबिसकेका दिपेशलाई उनले तान्न सकेनन् उल्टै अरुण पनि उनीसँगै डुबेका हुन् । मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।