प्रधानमन्त्री कार्कीको शान्ति र स्थिरता पुनर्स्थापना प्रयासमा मोदीको समर्थन


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।
“हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रेहको पुनः पुष्टि गरेँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।
प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्णरुपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् ।
“मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ,” मोदीले भनेका छन् ।