`

दलाई लामासहित प्रधानमन्त्री कार्कीलाई क–कसले दिए वधाइ ? के दिए सन्देश ?

Nepal One HD २ असोज २०८२ १७:४७
प्रमुख खबर

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई अझै वधाइ र शुभकामना आउने क्रम रोकिएको छैन । सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेपछि आज (बिहीबार) फोनवार्ताका क्रममा पनि भारतीय समकक्षी मोदीले फेरि दोहोर्‍याएर वधाइ दिएका छन् । उनले आज भएको २० मिनेट फोनवार्ताको शुरुवातमै पुनः वधाइ तथा शुभकामना दिएका हुन् । सुशीला कार्की यहि भदौं २७ गते नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । फोन वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका पनि दिएका छन् । ‘हालै नेपालमा भएको दुःखद् मृत्युप्रति समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रेहको पुनः पुष्टि गरेँ’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् । प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्णरुपमा कुराकानी भएको उनले जनाएका छन् । संविधान जारी गरेको दिन अर्थात् असोज ३ गते नेपालले संविधान दिवस र राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मोदीले राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिएको पनि उल्लेख गरेका छन् । ‘मैले भोलि (शुक्रबार) राष्ट्रिय दिवसमा उहाँ (प्रधानमन्त्री) र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु’, मोदीले भनेका छन् ।

यसअघि कार्की नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भए लगतै पनि बधाई दिएका थिए । उनले पहिलो पटक सामाजिक सञ्जालबाट (भदौं २८ गते) अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेख्दै कार्कीलाई शुभकामना दिएका थिए । कार्कीलाई सबै भन्दा पहिला जापानले वधाइ दिएको थियो । काठमाडौंस्थित जापानी राजदूतावासले एक सार्वजनिक पोस्टबाट (भदौं २८ गते) कार्कीलाई शुभकामना र वधाइ दिँदै आफ्नो सहयोग जारी राख्ने बताएको थियो । जेन– जी आन्दोलन हुँदा आन्दोलन पक्षधर मन्तव्य सार्वजनिक गर्ने अमेरिकी नेतृत्वका देशहरूको साझा मन्तव्यमा जापान पनि एक देश थियो ।

जापानले शुभकामनामा भनेको थियो, ‘जापान सरकारले नेपालले सकेसम्म चाँडो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण गर्न सकून् भन्ने प्रबल आशा व्यक्त गर्दछ । आज माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूले नेपालकी सम्माननीय सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुभएको निर्णयलाई हामी यस्तो संक्रमणतर्फको महत्वपूर्ण कदमको रूपमा स्वागत गर्दछौँ । जापान सरकारले नेपाल र जापानबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ सबल बनाउन नेपालको विकास र समृद्धिको लागि आफ्नो सहयोग निरन्तर जारी राख्नेछ ।’

यसअघिका प्रधानमन्त्रीहरुलाई सम्भवतः कहिल्यै वधाई नदिएका तिब्बती धार्मिक गुरु दलाई लामाले (भदौं २८ गते) नै नेपालकी अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बधाई दिएका थिए । लामाको कार्यालयमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’ उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भएता पनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् । ‘यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छ ।’ यस्तै जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाशसत तिब्बती धर्मगुरु दलाई लामाका सभामुखले पनि शुभकामना दिएका थिए । सभामुख खेन्पो सोनाम तेन्फेलले पनि (भदौं ३१ गते) कार्कीलाई शुभकामना दिएका थिए ।

दलाई लामाको निर्वासित प्रशासन केन्द्रीय तिब्बत प्रशासनको आधिकारिक वेबसाइटमा प्रकाशित शुभकामना सन्देशमा १७औं निर्वासित तिब्बती संसद तथा विश्वभरका तिब्बतीको तर्फबाट नेपाली जनताको विश्वास बोकेर आएकी प्रधानमन्त्री भनिएको छ । शुभकामना सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्धको समेत चर्चा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई केहि ढिला गरी वधाई दिएको थियो । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको सन्देश आफ्नो वेबसाइटमा भदौं २९ गते सार्वजनिक गरेको छ ।

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन चीन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैं नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, बधाई सन्देशमा उल्लेख छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले पनि (भदौं २८ गते) बधाई दिइसकेको छ । नेपालका लागि अमेरिकी राजदूत डीन आर थमसनले सामाजिक सञ्जाल एक्सको आधिकारिक खाताबाट बधाई दिएका थिए ।

उनले नेपाली र अंग्रेजी दुवै भाषामा कार्कीलाई बधाई दिएका थिए । उनले लेखेका थिए–नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनु भएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौं । हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौ । हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं । अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं । यस्तै संयुक्त राष्ट्रसंघले पनि (भदौं २८ गते) प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिइसकेको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाउदै प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । राष्ट्रसंघले संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी युवाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूत नविन श्रीवास्तवले हिजो भेटैरै पनि वधाई दिएका थिए । यस्तै आज चीनका राजदूत छन सोङले प्रधानमन्त्री कार्कीलाई भेटेरै वधाई दिएका छन् । उनले नजिकको छिमेकी भएको नाताले नेपाल सरकारलाई चीनले आवश्यक सहयोग जारी राख्ने वचन पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *