`

मुग्लिन–नारायणगढ सडकको पहिरो विहानैदेखि पन्छाउन सुरु

Nepal One HD ५ असोज २०८२ ७:३२
प्रमुख खबर

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज (आइतबार) बिहानैदेखि पुनः थालिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेशिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यद्यपि ढुङ्गा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइनखोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ ।

मुग्लिन नजिकै पर्ने तुइनखोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ती खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको हो । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ती बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र छन् ।

कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । पहिरो ठूलो भएकाले खुल्न समय लाग्ने बताइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *