`

देशभरका सात राजमार्ग आज पनि छन् पूर्णरूपमा अवरुद्ध

Nepal One HD ५ असोज २०८२ ११:००
प्रमुख खबर

काठमाडौं । वर्षा र बाढी–पहिरोको कारण आज (आइतबार) पनि देशभरका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । त्यसैगरी अरु सात राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ । आज पनि कोशी राजमार्गको भोटखोलामा सडक पूर्णरूपमा अवरुद्ध छ । यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ । त्यस्तै कोशी राजमार्गकै मकालु गाउँपालिका–३ को एकुवामा पनि सडक अवरुद्ध छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । यहाँ पनि लामो समयदेखि सडक अवरुद्ध हुँदै आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पनि अवरुद्ध छ । यहाँ शुक्रबार साँझदेखि नै पहिरोले सडक अवरुद्ध छ । पहिरो ठूलो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

आज पनि बिहानैदेखि तीन वटा लोडर र दुईवटा एकाभेटर प्रयोग गरे पहिरो हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरोको कारण मुग्लिन क्षेत्रमा बिगत तीन दिनदेखि सयौँ सवारी साधन रोकिएका छन् । काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा दसैँको मुखमा यात्रुले ठूलो मर्का बेहोरिरहेका छन् । त्यस्तै पहिरोले म्याग्दीको बेनी दरबाङ र जाजरकोटको जारकोट डोल्पा सडक पनि अवरुद्ध छ । त्यस्तै रसुवाको उत्तरगया, बाग्लुङको कालीगण्डकी, नवलपरासीको दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग, रुकुमपूर्वको मध्यपहाडी राजमार्ग र पाल्पाको पाल्पा गुल्मी सडकमा पनि बाढी पहिरो जाँदा एकतर्फी मात्रै गाडी चलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *