व्यवसायीलाई सरकारको राहत : पुननिर्माण गर्न आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुट


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि सरकारले प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । आइतबार बसेको मनित्रपरिषद् बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बीमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधामा क्षति बेहोरेका व्यवसायिलाई राहत घोषणा गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर डा. विश्वनाथ पौडेलको समन्वयनमा जेनजी प्रदर्शनबाट ठूलो क्षति भोगेका व्यवसायीको पुनरुत्थान र व्यावसायिक मनोबल सुधार गर्न तत्काल राहत प्याकेज घोषणा गरी कार्यदल बनेको थियो । अर्थ मन्त्रालयका ३ सहसचिवसँगै राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशक र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलको सिफारिसको आधारम सकारले व्यवसायिलाई दिने राहत घोषणा गरेको हो । आइतबारको मन्त्रिपरिद् बैठकमा अर्थमन्त्री रामेश्वर खनालको प्रस्तवमा उक्त निर्णय भएको हो ।
जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान तत्काल सुचारु गर्न नेपाल सरकार, राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरण मार्फत राहतका कार्यक्रम सुरु गर्ने निर्णय भएको अर्थमन्त्री खनालले बताए ।
सरकारले आन्दालनका क्रममा क्षति पुगेका संरचनाको पुननिर्माण गर्न आयात गर्ने सामानका भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय भएको अर्थमन्त्री खनालले बताए । त्यस्तै, बीमा दाबीको आधारमा अग्रिम दाबी भुक्तानी गर्ने गरी बीमा प्राधिकरणले व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । प्रभावित उद्योगी व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्ने व्यवस्था राष्ट्र बैंकले मिलाउने निर्णय भएको उनले बताए ।
यस्तै, प्रभावित उद्योग व्यवसायमा आवद्ध कर्मचारीको रोजगारी सुनिश्चितता गर्न ‘पेरोल प्रोटेक्सन प्लान’ ल्याउने निर्णय भएको उनले बताए । यसको लागि कर्जा लिएर भुक्तानी गर्न सक्ने व्यवसायलाई सहुलियत कर्जा र कर्जा लिएर भुक्तानी गर्न नसक्नेलाई राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी हुने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।