सुदन गुरुङको चेतावनी : देश र मेरीबीचमा नपर्नुस् गाह्रो पर्ला


काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताउँदै देश र आफ्नो बीचमा कोही परे गाह्रोपर्ने चेतावनी दिएका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन् । गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनु परेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन् ।
‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ’, उनले भिडिओ सन्देशमा भनेका छन्, ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है ।…गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन–मेरो बाटोभन्दा टाढा बस्नू ।’
गुरुङ अहिले मन्त्रिपरिषद्मा राम्रा–राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन् । उनले भनेका छन्, ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो– तपाईंहरूलाई, उनले भनेका छन्, मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ ।’
हेर्नुस् सुदन गुरुङको पूरा सन्देश “
अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भए जस्तो लाग्छ मलाई । मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या । हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई । कस्तो हाँसो उठिसक्यो मलाई । कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्यै गर्ने ? त्यति साह्रो फलो त के भन्ने ?
यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन । फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफै गर्नुपर्यो, हैन, आफ्नो प्रोटेक्सन त आफै गर्नुपर्यो । मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है । मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी । बरु कहाँ आउनु पर्छ, भन्नु, म आउँला । यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्यो सोच्या होला । मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन ।
यो कुरा चाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू । यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनु होला । मेरो यो वार्निङ हो, तपाईंहरूलाई । मैले भेट्टाए भने चाहिँ गाह्रो हुन्छ । अस्ती सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ । अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्या छैन भन्ने सोच्नु होला । गुरुङ सोझो छ भनेर सोच्नु भएको होला । म सोझो छैन है फेरि । म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू । मेरो बाटो अवरोध गर्न नखोज्नूस् । म प्रयास गरिरहेको छु–तपाईंहरूको सबैको भविष्य राम्रो होस् ।
मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानु भाछ । कति राम्रा निर्णयहरू भएका छन् । सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो । मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने । कहिले कता फलो गर्ने । बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु । अरुलाई धम्काए जस्तो सोच्नु होला । मलाई धम्क्याउन गाह्रो छ । तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नु होला । जति जना तपाईंले ट्राई गरिरहनु भएको छ । मेरो देश र मेरो बीचमा आउन खोज्नु भयो भने तपाईंहरूलाई गाह्रो पर्छ ।
भिडिओ