पूर्व मन्त्री रायमाझी कारागार फर्किए, सम्पर्कमा छैनन् पाण्डे
काठमाडौं । जेन–जी आन्दोलनका बेला भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन् ।
उनका अनुसार भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने सम्पर्कमा छैनन् । कतिपयलाई खोज्ने काम भइरहेको उनले बताए । कतिले आफै आउने जानकारी समेत गराएका छन् । सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि बुधबार नै कारागार फर्किएको कारागार प्रमुख चापागाईंले बताए । नख्खु कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यसअघि नै कारागार फर्किसकेका छन् । देशभरका विभिन्न कारागारबाट भागेका धेरै कैदीबन्दी अझै फर्किएका छैनन् ।
