`

एक्काको चाल म हो तर, अहिले चल्दिनँ : दुर्गा प्रसाई

Nepal One HD १० असोज २०८२ १३:२६
प्रमुख खबर

विराटनगर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् । काठमाडौंबाट गृह जिल्ला बिर्तामोड पुगेका उनलाई स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको दावी गरे । चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको पनि बताएका छन् ।

उनले भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदाहुँदै एक्का किन चलाउनु ?’ प्रसाईले आफू ‘एक्का’ भएको जिकिर समेत गरेका छन् । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेण्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्ड बिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।

प्रसाईले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको समेत टिप्पणी गरेका छन् । प्रसाईले भने, ‘जेनजी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’ अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईले टिप्पणी गरे । ‘बङ्गलादेशको बाछिटा नेपालमा छिर्‍यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ?’, उनले प्रश्न गरे । प्रसाईले ओलीलाई वाल्मिकी बन्ने अवसर रहेको, कार्यकर्ता समेतले गल्ती गरेको र अब सच्चिएर आफ्नो घरमा आए आश्रय दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *