प्रधानमन्त्री कार्कीले यस बर्ष दशैंको टीका नलगाउने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस बर्ष वडादशैंको टीका–जमरा नलगाउने भएकी छन् । जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा उनले यस वर्ष दशैंको टीका नलगाउने भएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भएता पनि हालै भएको युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ । तसर्थ, यस बर्ष सम्माननीय प्रधानमन्त्री ज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’
यस्तै, ताजै युवा पुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ ।
बडादशैँको सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा हार्दिक अपील समेत गरेकी छन् ।