‘ब्रेक फेल’ भएर घरमाथि खस्यो बस, १५ जना घाइते


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार दिउँसो करिब ३ः२५ बजे बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको टाटा कम्पनीको बस (लु १ ख ७७७६) सडकदेखि करिब ५.७ मिटर तल खस्दै स्थानीय मनिष कुँवरको खाली घरमा अड्किएको अवस्थामा भेटिएको हो ।
बस चालक गुल्मी इस्मा गाउँपालिका–४ का ४४ वर्षीय बीर बहादुर गुरुङ छन् । बसको घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये इस्मा गाउँपालिका–६ अमरपुरका २१ वर्षीय नबिन महत, ३१ वर्षीय सहचालक दिपक पराजुली, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षीया हरिकला कुमाललाई मध्यम चोट लागेको छ । बाँकी घाइतेहरूलाई सामान्य चोट लागेको जनाइएको छ ।
घाइतेहरूमा राधिका बस्नेत र उनकी छोरी कोपिला बस्नेत, छोरा अनिल बस्नेत, सरिता कुमाल र उनका छोरा कृष्ण कुमाल, सन्त बहादुर कुमाल, चन्द्री कुमाल र उनका नाति ईश्वर कुमाल, सरिता महत, सचिन महत तथा लक्ष्मी बिष्ट रहेका छन् । दुर्घटनामा बस र घर दुवैमा पूर्ण क्षति भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।