प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीदका परिवार


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर आज ‘जेनजी’ आन्दोलनका शहीदका परिवारलाई भेटेकी छन् ।प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली पुगेर शहीद सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् ।
यस्तै उनले नागार्जुन–३ पुगेर शहीद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर शहीद बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि शहीदका परिवार भेट्न पुगेका थिए ।
गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म सुरक्षाकर्मी समेत ७६ जनाको मृत्यु भएको सरकारले जनाएको छ । आन्दोलनका क्रममा मारिएका युवालाई सरकारले शहीद घोषणा गरिसकेको छ । आन्दोलनमा घाइते भएकामध्ये ३८ जना अझै उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।