दशैंको टीकाको दिन पनि सडक र पुल निरीक्षणमा मन्त्री घिसिङ


रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंको टीकाको दिन पनि बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।
सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ बडादशैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।
उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
संघीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृह जिल्ला रामेछाप आएका मन्त्री घिसिङले वीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिए ।
बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भर्ट’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।