सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की


काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन् । विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।
नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् ।
‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो । सयौं मानिस घाइते भएका छन् । यस वर्ष सदाझैं पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई दसैंको टीका लगाइ दिएनन् ।