बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।
विशेष गरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा उच्च जोखिम रहेको उल्लेख छ । बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको पनि उल्लेख छ ।
कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही असोज १७ गतेदेखि २० कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने तथा नदीहरूमा उल्लेख्य रूपमा पानीको सतह बढ्न गई खतरा तहको आसपासमा पुग्ने सम्भावना देखिएको छ ।
हेर्नुस् सूचना