`

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, यात्रु अलपत्र

Nepal One HD १८ असोज २०८२ १३:५०
प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ । उडान प्रतिकूल मौसमका कारण दिउँसो ३ बजेसम्म विमानस्थल बन्द गराइएको हो ।

देशभर परिरहेको अविरल वर्षाका कारण राजमार्ग समेत अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन् । बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र खराब भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या आएपछि विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भिड लागेको छ ।

उडान ठप्प भएपछि हजारौं यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । लामो समयदेखि पर्खाइमा रहेका यात्रुहरूको लागि विभिन्न वायुसेवा कम्पनीहरूले टिकट रद्द गर्न थालेका छन् । अचानक उडान बन्द हुँदा यात्रुहरूले सास्ती भोगिरहेका छन् भने कतिपयको यात्रा योजना नै प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म अहिले पानी परिरहेको छ । आगामी केही घण्टाभित्र वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेकाले उडान सञ्चालनमा सुधार आउन समय लाग्ने देखिएको छ ।

महाशाखाले केही प्रदेशहरूमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा उडानको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *