`

इलाममा पहिरोले पुर्दा दुईको मृत्यु, कम्तिमा १० जना बेपत्ता

Nepal One HD १९ असोज २०८२ ९:४५
प्रमुख खबर

इलाम । इलाममा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिकालगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका–६ घोषमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।

यस्तै माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *