पहिरोले पुर्दा इलाममा एकै परिवारका ६ को मृत्यु, चार जना घाइते


इलाम । लगातारको बर्षासँगै गएकाे पहिरोले घर पुर्दा इलाम नगरपालिका–६ घोषस्थित नवबुद्ध आदर्श टोलमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।
भारी वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठूलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका बिराज तामाङ, १२ वर्षका समीर राई, ७–८ वर्षकी प्रिन्सिका मगर र करिब ३–४ वर्षका एक बालक रहेको इलाम नगरपालिका–६ का वडा अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।
मृतक नाबालकको उद्धार गरी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा चार जना घाइते भएका छन् । दशैं भएको कारण पाहुना लाग्न आएका ६–७ जनाले भागेर ज्यान बचाएका छन् । जसमा वृद्ध दम्पती पनि छन् । उनीहरू करिब ८० वर्ष नाघेका छन् । वडा अध्यक्ष श्रेष्ठका अनुसार डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ ।