हाम्रो नाममा आपराधिक गतिविधिहरु भड्काइँदै छ : सुदन गुरुङ


काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको टिप्पणी गरेका छन् ।उनले त्यस्तो कार्य गर्नेले कानुन बमोजिम कारबाही भोग्नुपर्ने चेतावनी समेत दिएका छन् । उनले कुनै पनि हिंसात्मक कार्यमा संलग्न नहुन र हुन पनि नदिन आग्रह पनि गरेका छन् ।
‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नु पर्नेछ । हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ । त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ । हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन ।’ उनले लेखेका छन्, ‘अब जनता जागिसकेका छन् । हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’