बालेन र सुदनविरुद्ध जाहेरी बुझाएपछि अखिल नेता : दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं


काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नता रहेको भन्दै एमाले अखिलले मेयर बालेन्द्र र हामी नेपालका संस्थापक सुदनविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको हो ।
प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका महासचिव दीपक धामीले बताएका छन् । मंगलबार अखिलका नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन् ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्वपूर्ण निकाय जलाउनमा बालेन र सुदनको हात रहेको उनीहरूको आरोप छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइरहेको छ । त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो ।
‘दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं’
अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई प्रहरीले एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले जानकारी दिएका छन् । ‘हामीले जाहेरी दिएका छौं । सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टामा यसको निर्णय दिन्छौं भन्नु भएको छ । सरकारी वकिलको कार्यालयको निर्णयपछि मात्रै हामी थप निर्णय गर्नेछौं,’ उनले भने ।
बडालले थप न्यायिक निरुपणका लागि आफूहरू सम्बन्धित ठाउँमा जान तयार रहेको बताए । ‘हामी कानुनी राज्यको पक्षधर भएको संगठन हौं। हामीले मुलुकको विधिको शासनको वकालत गर्दै यहाँसम्म आएका छौं । दण्डहिनतालाई प्रश्रय दिनु हुँदैन भनेर हामी यहाँ उपस्थित भएका छौं,’ उनले भने ।
उनले राष्ट्रिय सम्पदाहरू तोडफोड र आगजनी गर्नेहरूलाई अनुसन्धान गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले त्यसका लागि आवश्यक प्रमाणहरू पनि बुझाएको बताए । ‘जेनजीका नाममा बालबालिकाको हत्या भएको छ । सिंहदरवार, अड्डा अदालत जलेका छन् । राष्ट्रिय सुरक्षामा खतरा महसुस भएको छ । हामी दण्डहिनतालाई टुलुटुलु हेरेर बस्दैनौं,’ उनले भने ।
त्यस्तै अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनपछि देश आतंकित बनेको बताए । उनले यस्तो बेला राज्यका सबै नियकाहरू परिचालित हुनुपर्नेमा कोही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा हुकुमी शासन चलाइरहेको आरोप लगाए ।
‘प्रहरीलाई कुटीकुटी मारिएको छ । विद्यार्थीलाई गोली हानिएको छ । शान्तिको प्रतीकको रूपमा रहेको देशमा विध्वंश मच्चाइएको छ । त्यो हुनु हुँदैन । हामी पनि त्यही समूहका युवाहरू हौं । अनधिकृत मान्छेहरू सिंहदरवार छिरेर हुकुमी शासन लाद्नु हुँदैन,’ उनले भने ।