बालेन र सुदनविरुद्ध अर्को जाहेरी


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल नाम गरेका व्यक्तिले शाह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका हुन् । मंगलबार मात्रै शाह र ‘हामी नेपाल’ का संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए । यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।
२३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाइएको छ । अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ । यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।
२३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।