`

बढ्यो विपिन जोशी रिहाइको आशा

Nepal One HD २३ असोज २०८२ ८:४१
प्रमुख खबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

उनले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाको लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन भएको पनि उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले यस विषयमा मध्यस्थता गरेकामा कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले भनेअनुसार हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि छाडिने छन् । बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ । योसँगै उनी जीवितै रहेको आशा गरिएको छ । तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन ।

बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ । एशोसिएटेड प्रेस (एपी) का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *