चार डीआईजी एआईजीमा बढुवा


काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रीपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो । असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो ।
प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन् । उनीहरु चारै जना डीआईजीको बरियतामा अगाडि थिए ।
बढुवा समितिले बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा भएका चारै जना एआईजीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए । यही टोलीका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन् । अब उनीहरुलाई कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागको जिम्मेवारी पाउने छन् । एआईजीका दरबन्दी भएका यी विभागहरु खाली छन् ।