टी–२० विश्वकप छनोटमा आज चीर प्रतिद्वन्द्वी यूएईसँग भिड्दै नेपाल


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज (आइतबार) नेपाल चीर प्रतिद्वन्द्वी यूएई भिड्दै छ ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्वपूर्ण छ ।
नेपाल आजको खेलमा यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउने योजनामा छ । सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ । सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ ।
एशोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ । नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो ।
समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो । सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्ने छ । जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन ।