`

जेनजी आन्दोलनको आगामी मोड : एकता कि अन्योलतर्फ ?

Nepal One HD २६ असोज २०८२ १४:३४
प्रमुख खबर

काठमाडौं । भदौ २३ र २४ गते नेपालका सडकमा उत्रिएको ‘जेनरेशन जस्टिस (जेनजी)’ आन्दोलनले तत्कालीन ओली सरकारलाई ३६ घण्टामै घुँडा टेकाउन बाध्य पारेर विश्वमै दुर्लभ राजनीतिक घटनाको उदाहरण बन्यो । तर एक महिनापछि, यही ऐतिहासिक आन्दोलन आज आफ्नै छायाँमा अल्मलिएको देखिन्छ—आरोप, गुटबन्दी, परिचालन र रहस्यका कुहिरोभित्र हराइरहेको छ ।

कहाँबाट सुरु भयो ? कहाँ पुग्यो ?
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको आक्रोश र सरकारको अकर्मण्यताविरुद्ध आवाज बनेर उठेको जेनजी आन्दोलनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्त गरायो । आन्दोलनको दबाबमा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार पनि आज प्रश्नहरूको घेरामा छ । दावी गरिएको थियो, ‘यो जनताको आवाज हो’, तर आज त्यही जनताले प्रश्न गरिरहेका छन्, ‘यी नेताहरू को हुन् ? प्रतिनिधि कसरी बने ? र के साँच्चै यिनले हाम्रो चाहना बुझे ?’

‘असली’ र ‘नक्कली’ जेनजी : आन्दोलनभित्रको आन्दोलन
आजको वास्तविकता के हो भने, जेनजी नाममा विभिन्न गुटहरू देखा परेका छन् ।
–सुदन गुरुङ
–मीराज ढुंगाना
–प्रवेश दाहाल
यी पात्रहरू कहिले प्रधानमन्त्रीसँग त कहिले राष्ट्रपतिसँग वार्तामा छन् । तर उनीहरूको ‘अधिकार’ प्रति प्रश्न उठिरहेको छ, ‘यी असली प्रतिनिधि हुन् कि स्वघोषित अगुवा ?’ त्यहींबेला, आफैंलाई ‘असली जेनजी’ बताउने अन्य समूहहरू राष्ट्रपतिको निवासअगाडि नाराबाजी गरिरहेका छन् ।

सडकको आगोभित्र ‘टीओबी’ को सन्दिग्ध छायाँ
पत्रकार दिवाकर शाहले आफ्नो च्यानल ‘एचटीपी खबर’ मार्फत ल्याएको रिपोर्टले आन्दोलनमा देखिएको अर्को रहस्य उजागर गर्‍यो–२३-२४ गतेको आन्दोलनमा हिंसा र आगजनी गर्नेहरू टीओबी (TOB) लेखिएको कालो टिसर्टमा थिए र उनीहरू सम्भावित बाह्यबाट परिचालित समूह हुन सक्ने शंका उनले सार्वजनिक गरे ।

यसलाई नेकपा एमाले निकट नेता समिक बडालले समर्थन गर्दै जेनजीका चर्चित पात्र सुदन गुरुङको टीओबीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । बडालले फेसबुकमार्फत लेखे, ‘तपाईंको हातको ट्याटु र पत्रकार दिवाकर शाहले सार्वजनिक गरेको लोगोले त्यो बोलीको असलियत प्रष्ट देखाएको छ… भ्रम सिर्जना गरेर युवाको भावनामाथि खेलवाँड नगर्नुहोस् ।’

टीओबी टिसर्टबारे सुदन गुरुङको प्रश्न : त्यो भिडिओमा म कहाँ छु ?
सरकारसँगका वार्तामा जेनजीका तर्फबाट सक्रिय ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (TOB) लेखिएको तस्बिर-भिडिओ सामाजिक सञ्जालमा भाइरल गराइएको छ । टीओबीको पूर्ण रूप द ओरिजिनिल ब्रदर्स (The Original Brothers) हो । यो बाइकर्स ग्रुप हो । उनीहरूले विभिन्न स्थानमा दान तथा सामाजिक काम गर्ने गरेका छन् । सुरुमा उनीहरूको नाम ‘टिबेटियन ओरिजिनल ब्लड’ थियो ।

त्यो ‘टीओबी’ समूहमा आफू र आफ्नो संस्थालाई जोडेर समाजमा भ्रम फैलाउन खोजिएको भन्दै गुरुङले भिडिओ सन्देश जारी गरी स्पष्टीकरण दिएका छन् । ‘अब चाहिँ अत्ति नै भयो । यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन । अहिले फेरि नयाँ ट्रेन्ड आएको छ । साइबर सेनाको टीओबीसँग हामीलाई बदनाम गर्न । ..फेरि मान्छेहरूले पत्याइरहेका छन् । ए यस्तो रे, उस्तो रे । हामी कतिसँग लड्ने ? नेतासँग लड्ने कि भ्रष्टाचारविरुद्ध लड्ने कि ? यो यो फेक न्युजविरुद्ध लड्ने कि ? हाम्रो टिम मिलाउन लड्ने कि ? कति कुरामा चाहिँ हामी लड्नु पर्ने ?

उनले भनेका छन्, ‘मलाई देखाउनु पर्‍यो कि त्यो भिडिओमा मचाहिँ कहाँ छु ? मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ ?..त्यो भिडिओमा त देखिँदैन त ? अनि यसलाई हामीले बोलाएको भनेर साइबर सेनाको नयाँ स्टाइल ! हामी फेरि पत्याइ दिने ! हामी पढे लेखेका छैनौं ? सत्य र असत्य, झुट हामी पहिचान गर्न सक्दैनौं ? यसो बुझ्न सकिन्छ नि हैन ? यसमा त यो मान्छे छैन, किन यिनीहरूले यस्तो गरेको होला ? भनेर बुझ्न त सक्छौं नि, हामी त पढे लेखेका मान्छे छौं।’

एनजीओ नियन्त्रित सरकार ? उठेका छन् गम्भीर प्रश्न
जेनजीको आन्दोलनबाट बनेको अन्तरिम सरकारप्रति पनि टिप्पणी र आलोचना सुरु भएको छ । ‘हामी नेपाल’ नामक संस्थाबाट सक्रिय सुदन गुरुङमाथि तिब्बतीयन फण्डमार्फत् परिचालित भएको आरोप समेत लागिरहेको छ । यिनै कारण अहिले सर्वसाधारणदेखि विश्लेषकहरूसम्म ‘सरकार कहीं एनजीओको इशारामा त चलिरहेको छैन ?’ भन्ने प्रश्न गरिरहेका छन् ।

७४ जनाको बलिदानीको मूल्य : आन्दोलनको उद्देश्य बिर्सिने खतरा ?
जेनजी आन्दोलनले ७४ जना युवाको ज्यान लियो । उनीहरूको बलिदानीले सरकार परिवर्तन गर्‍यो, तर आज पीडित परिवार न्याय खोज्दैछन्—माग सुनिएको छैन । यो आन्दोलनले भ्रष्टाचार, दमन र सञ्जाल नियन्त्रणविरुद्ध आवाज उठाएको थियो, तर अहिले शक्ति र पहिचानको लडाइँमा लिप्त भएको देखिँदैछ । नेताहरू एक आपसमा ‘तँ नक्कली, म असली’ भन्न थालेका छन् ।

विश्वमै प्रशंसित आन्दोलन, तर भित्रैदेखि भाँचिएको संरचना
जेनजी आन्दोलनले विश्वभर चर्चा बटुल्यो । तर अहिले नेपालमै यसको नैतिक अधिकार, नेतृत्वको पारदर्शिता र उद्देश्यकै बारेमा गम्भीर विवाद छ । ‘यो आन्दोलनले देशलाई उज्यालो देखायो कि अँध्यारोमा धकेल्यो ?’, यो प्रश्न अहिले हरेक नेपालीको मनमा उठिरहेको छ ।

जेनजीको भविष्य कुन मोडमा छ ?
एक यथार्थ के हो—जनताको भावना, आक्रोश र बलिदानी साँचो हो । तर नेतृत्व अस्पष्ट हुँदा, उद्देश्य कमजोर हुँदा, र गुटबन्दी हावी हुँदा त्यो आन्दोलन संघर्ष होइन, षड्यन्त्रमा बदलिन सक्छ ।
अब पनि समय छ —
–नेतृत्व पारदर्शी बनोस् ।
–पीडितलाई न्याय मिलोस् ।
– ‘जेनजी’ नाममा शक्ति प्रदर्शन होइन, सुधार होस् ।
नत्र, इतिहासले लेख्नेछ–नेपालमा एउटा युगान्तकारी आन्दोलन भयो… तर त्यो आन्दोलन आफैले आफैलाई हरायो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *