टीओबीको स्पष्टीकरण : हामी नेपाली नै हौं, आगजनीमा संलग्न छैनौं


काठमाडौं । आफूलाई विदेशी समूह भन्दै जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोप लागेपछि टीओबी अर्थात् ‘द ओरिजिनल ब्रदर्स’ ले खण्डन गरेको छ । समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङले आज (आइतबार) फेसबुकमा ‘टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल’ जारी गरेका हुन् । उनले आफूहरू कुनै विदेशी नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यको समावेशी समूह भएको दाबी गरेका छन् ।
जसको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य अनियमितताविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने भएको उनले उल्लेख गरेका छन् । यसै क्रममा गत भदौ २३ गते भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको तर भोलिपल्ट २४ गतेको तोडफोड र आगजनीमा आफ्नो समूह संलग्न नरहेको दाबी गुरुङले गरेका छन् ।
‘भाद्र २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौं । भाद्र २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ । यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ–उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन । हाम्रो समूहमा एउटा साथी छन्, जसको पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नु हुन्छ । उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ ।’
स्पष्टीकरणमा भनिएको छ, ‘उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन । हाम्रो समूहमा धेरै जेनजी उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन् । ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो । हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो ।’
उनले लेखेका छन्, ‘हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौं कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस् । सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौं । महत्वपूर्ण सूचना : यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौं । सत्यसिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ । तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौं । हामी फेरि दोहोर्याएर भन्छौं–टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ । हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र समाजिक न्याय हो । कृपया अफवाह नफैलाउनु होला र तथ्यमा आधारित जानकारी लिनुहोस् ।’ र्यापर तथा कलाकार गुरुङ हाकिम इन्टरटेनमेन्ट नामक म्युजिक कम्पनीका सञ्चालक पनि हुन् । यसैबीच ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले भने उक्त समूहलाई आफूले आन्दोलनमा नबोलाएको बताएका छन् ।