हमासले पुष्टि गर्यो विपिन जोशीको मृत्यु, शव इजरायललाई बुझाउँदै


काठमाडौँ । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । इजरायली सेनाका अनुसार, हमासद्वारा फिर्ता गरिँदै गरेका बन्धकहरूको शव संकलन गर्न रेड क्रस गाजातर्फ जाँदैछ।
आईडीएफ र इजरायली गुप्तचर संस्था शिन बेटले जारी गरेको संयुक्त वक्तव्यमा रेडक्रस गाजाको दक्षिणी क्षेत्रमा रहेको भेटघाट स्थलतर्फ जाँदैछ । यहाँ अपहरणमा परेका मृतक बन्धकहरूका केही शवहरू राखिएका कफिनहरू रेडक्रसलाई हस्तान्तरण गरिनेछ।
हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।
हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।
इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।
आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।
हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७)विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका थिए।