‘बिलखबन्द’ मा विप्लव : माओवादीसँग एकता कि, आयोगमा दल दर्ता ?
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । कपिलवस्तुको शिवगढीमा जारी बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूले अध्ययन गरेर धारणा राखिरहेका छन्।
७७ वटै जिल्लाका जिल्ला इञ्चार्जहरूले पनि धारणा राखिरहेका छन् । नेताहरूका अनुसार माओवादी केन्द्रसँगको एकता कि निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने ‘बिलखबन्द’ मा नेकपाका महासचिव विप्लव रहेका छन् । माओवादी घटकसहित विचार मिल्ने वाम घटकसँग एकता गर्ने गरी एक वर्षअघि नै निर्णय गरेको थियो । एक वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको भनेर कतिपयले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

कतिपयले बदलिएको अवस्थामा वाम एकता गरेर जानु उपयुक्त हुने सुझाएका छन् । बैठकमा नेताहरुले माओवादीसहित विभिन्न पार्टीसँग एकतादेखि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जानुपर्नेसम्मको सुझाव आएका छन् । माओवादीसँग एकता गर्ने भनिएपछि लामो समयदेखि सहमति जुट्न सकेको छैन । महासचिव विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माण गरेर जानु पर्नेसम्मको विषय उठेपनि केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने तयारी छ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट शक्तिको भूमिकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । केन्द्रीय समिति बैठकअघि विप्लवले स्थायी समिति बैठक बैठक राखेका थिए ।
