देउवा पहिलो पटक सहभागी हुने सानेपा वैठकमा कडा सुरक्षा, नेताहरुको चहलपहल {तस्वीरहरू}


काठमाडौं । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवा पहिलो पटक सहभागी हुन लागेको वैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल देखिएको छ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ । जेनजी आन्दोलनमा कुटपिटमा परेका सभापति देउवा त्यसयता पहिलो पटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा कडा बनाइएको हो ।
अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ । यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ ।
अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस छ । नियमित महाधिवेशनमा नजाने हो भने विशेष महाधिवेशन गर्नुपर्छ भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियानसमेत चलाएका छन् । जेन–जी विद्रोहपछि बस्न लागेको बैठक भएकाले पनि नेता–कार्यकर्ताले यो बैठकलाई उत्सुकतापूर्वक हेरिएको छ । नेताहरूले दिएको जानकारी अनुसार मंगलबारको बैठक स्थगित गर्ने तयारी गरिएको छ । पार्टी सभापति देउवा आएपछि संक्षिप्त बैठक बस्ने र स्थगित गरिएको जानकारी दिइनेछ । केन्द्रीय समितिमा पेस गर्ने कार्यसूचीमा सभापति र महामन्त्रीबीच कुरा नमिलेपछि बैठक सर्न लागेको हो ।