कोही यहाँ विद्या भण्डारीको माइती बनेर नआउनू, म भण्डारीलाई राम्रै जान्दछु : ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन् । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्दछु । उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ उनले भने । त्यतिबेला आफूले पाँच लाख रूपैयाँ सहयोग उठाइदिन्छु भनेर आग्रह समेत गरेको बताए।
‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ । कसैले यहाँ ठूलो कुरा नगरौं । म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने । पूर्व राष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनु पर्ने उनले बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न करिब ५० जना सदस्यहरूले माग गरेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पदाधिकारीहरू पनि उनको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए ।