बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)


कैलाली। एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमुना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक बन्दै आएको छ ।
चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मङ्सिर २८ गते सम्पन्न भएको थियो ।
करिब २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर)मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इन्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।
पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । ‘यो पुल निर्माण भएपछि अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन,’ स्थानीय बताउँछन्।
यो पुल काठमाडौंबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाएको छ । पुलको उद्घाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो ।
यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभयर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पनि जोडेको छ।