`

सरकार र दलहरूबीच वालुवाटारमा बैठक, को–को छन् सहभागी ?

Nepal One HD ४ कार्तिक २०८२ १६:५७
बिशेष

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छलफलमा विभिन्न १० राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन् ।

कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामुहिक छलफल गरेकी हुन् । कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्। खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ । यो अवस्थामा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि बोलाइएको छ ।

दुवै जना पर्यवेक्षकको रुपमा सहभागी हुन भनिएको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका छन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् । कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *