प्रधानमन्त्री कार्कीमाथि राष्ट्रघात र बलिदानको अपमान गरेको रविकिरणको आरोप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ समेत एक अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन गर्न माग गर्दै प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् । ‘जेन्जी आन्दोलन, नेपाल’ नामक संगठनको तर्फबाट हमालले प्रधानमन्त्री कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरी महानिरीक्षक समक्ष औपचारिक निवेदन दिएका हुन् । निवेदनमा उल्लेख गरिएअनुसार कार्कीले ‘जेन्जी विद्रोह’ का क्रममा देशका युवाहरूको बलिदानमाथि सत्ता कब्जा गरी प्रधानमन्त्री पदमा नियुक्त भएको आरोप लगाइएको छ ।
निवेदक रवि किरण हमालद्वारा हस्ताक्षरित सो निवेदनमा कार्कीमाथि सत्ता हत्याउने, जनताको म्यान्डेटको उल्लङ्घन गर्ने, न्यायालयको स्वतन्त्रता समाप्त गर्ने र जनआन्दोलनको बलिदानप्रति अपमान जनाउने कार्य गरेको दाबी गरिएको छ । उनले आफ्ना निकटका कार्यकर्ताहरूलाई न्यायिक पदमा नियुक्त गरेको र न्यायिक स्वतन्त्रतालाई कमजोर बनाएको आरोप पनि लगाइएको छ ।
निवेदनमा उल्लेख गरिएको थप आरोप अनुसार, जेन्जी विद्रोहको समयमा निर्दोष युवामाथि गोली चलाउने र तिनै घटनामा संलग्न व्यक्तिहरूलाई संरक्षण दिई फेरि सक्रिय राजनीतिक भूमिकामा ल्याइएको छ । कार्की नेतृत्वको मन्त्रिपरिषदमा रहेका केही सदस्यहरूमाथि भ्रष्टाचार र राष्ट्रघातको आशंका समेत उठाइएको छ । ‘देश र जनताको हितका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल गिरफ्तार गरी निष्पक्ष र पारदर्शी कानुनी छानबिन होस्’, निवेदनमा भनिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालय तथा नेपाल प्रहरी मुख्यालयबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

