सोलुखुम्बु गाडी दुर्घटना : तीन मृतकमध्ये दुई किशोरीको मात्रै सनाखत
सोलुखुम्बु । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सीमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको कुँवरले जानकारी दिए । ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने ।
दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ–३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ । त्यस्तै महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते छन् ।
घाइतेहरुको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना भने सकुशल छन् । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
