`

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो : मुख्यमन्त्री आचार्य

Nepal One HD ८ कार्तिक २०८२ १२:०८
प्रमुख खबर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गरिदिँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या आएको बताएका छन् ।

नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले जनतासँग प्रत्यक्ष जोडिएका सडक, शहरी विकास र खानेपानीलगायतका आयोजनाको बजेट संघीय सरकारले रोकेकाले काम अघि बढ्न नसकेको खुलाए । उनले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् ।’

उनले अर्घाखाँचीमा प्रदेश सरकारको तर्फबाट धेरै काम भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

यसैगरी, मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयमा गएर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा अन्य राजनीतिक दलका नेताहरू र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *