`

सरकारलाई दुर्गा प्रसाईको सन्देश : वार्ताको स्वागत गर्ने, परिणाम चाहिने तर्क

Nepal One HD ९ कार्तिक २०८२ १०:२९
प्रमुख खबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले आधिकारिक वार्तामा बोलाए स्वागत गर्ने जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ ।’ उनले अगाडि भनेका छन्, ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’

प्रसाईले वार्ता गर्न बोलाउँदैमा मात्रै देशले निकास नपाउने पनि स्पष्ट पारेका छन् । राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनले उल्लेख गरेका छन् । प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले हिजो (शनिबार) सरकारलाई ब्रिफिङ गरेका छन् ।

शनिबार बिहान चार वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए । करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए । सोही क्रममा प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र सम्भावित चुनौतीबारे लामै छलफल भएको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार यसअघि पनि गत १५ चैतमा तीनकुनेमा भएको घटनाको उदाहरण दिँदै प्रसाईं समूहबाट फेरि पनि यस्ता गतिविधि हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो । ‘प्रसाईं समूहले विशेषगरी भाडामा मान्छे जम्मा पारेर ठूलो भिड जम्मा पार्नसक्ने देखिन्छ । गम्भीर समस्या पनि सिर्जना नहोला भन्न सकिँदैन,’ बालुवाटार बैठकमा एक सुरक्षा प्रमुखले भनेका छन्, ‘यो समूहको विशेष निगरानी आवश्यक छ ।’

प्रसाईं समूहको आन्दोलन व्यवस्थाकै विरुद्धमा भएकाले पनि घुसपैठ हुनसक्ने र अवस्था तनावपूर्ण बन्नसक्ने विश्लेषण बैठकमा सुरक्षा प्रमुखहरूले गरेका छन् । देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै संकट बढ्न सक्नेतर्फ प्रसाईंलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ । सोही विश्लेषण सुनेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक लगत्तै हिंसात्मक आन्दोलन नगर्न र संवादबाटै अघि बढ्न अपिल समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *