`

‘संवेदनशील’ घडीमा डा. सुधाको फेरि सिंहदरबार ‘इन्ट्री’

Nepal One HD ९ कार्तिक २०८२ १६:२८
बिशेष

काठमाडौं । स्वास्थ्य क्षेत्रमा जीवनको तीन दशक बढी समय बिताएकी डा. सुधा शर्मा फेरि सिंहदरबार फर्किएकी छन् । यस पटक सचिव होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी मन्त्री बनेकी हुन् । वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेकी डा. शर्माले कार्यकाल बाँकी छँदै राजनीतिक हस्तक्षेप र अस्वस्थ वातावरणलाई कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।

तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो र उमाकान्त चौधरीले ‘अनावश्यक दबाब’ दिएको भन्दै उनले सरकारी सेवाबाट अलग हुने निर्णय लिइन् । पद छोडेपछि उनी संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुख (A–५ तह) का रूपमा कार्यरत भइन् ।

त्यसअघि र पछि पनि उनी विभिन्न सरकारी, अन्तर्राष्ट्रिय र परामर्शदातृ भूमिकामा सक्रिय रहिन् । उनी नेपाल चिकित्सक संघ (NMA) की पहिलो र अहिलेसम्मकी एक मात्र महिला अध्यक्ष हुन् । बागी उम्मेदवारका रूपमा निर्वाचित डा. शर्माले २०६२/६३ को जनआन्दोलनका बेला चिकित्सक र अन्य पेशेवरहरूको साझा संस्था ‘पापड’ (Professional Alliance for Peace and Democracy) की अध्यक्षका रूपमा आन्दोलनको नेतृत्व गरेकी थिइन् । आन्दोलनका घाइतेहरूको उपचार समन्वय गर्ने जिम्मेवारी उनले नै सम्हालेकी थिइन् ।

डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ (Gynecologist) हुन् । उनले नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (NHSP–II), सुरक्षित मातृत्व कार्यक्रम, र नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० को नीति निर्माणमा योगदान पुर्‍याएकी छिन् । उनले पछिल्लो समय सेफ मदरहुड तथा न्युनबर्न हेल्थ रोडम्याप २०३० तयार पार्न स्वास्थ्य मन्त्रालय र डीएफआईडीसँग सल्लाहकारका रूपमा काम गरेकी थिइन् ।

उनले युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्स बाट फेलोशिप प्राप्त गरेकी छन् । जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी उनी नेपाल, भारत र बेलायतमा अध्ययन गरेर फर्किएकी विशेषज्ञ हुन् । डा. शर्माले विभिन्न अन्तर्राष्ट्रिय निकाय—डब्लुएचओ, युएनएफपीए, युनिसेफ, र अन्य संस्थामा सल्लाहकारका रूपमा योगदान पुर्‍याएकी छिन् । उनी दक्षिण एशियाली महासंघकी अध्यक्ष, एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्ष र नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (NESOG) की पूर्व अध्यक्ष समेत हुन् ।

एफआईजीओ वुमन अफ द इयर अवार्ड सहित उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । उनका सहकर्मीहरूले उनलाई ‘हक्की, निडर र बोल्ड निर्णय लिने’ नेतृका रूपमा चिन्ने गर्छन् । १४ वर्षअघि ‘राजनीतिक हस्तक्षेपले थकित’ भएर सिंहदरबारबाट बाहिरिएकी डा. शर्मा अहिले फेरि त्यही सिंहदरबारमा फर्किएकी छन्—देश चुनावको तयारीमा रहेको संवेदनशील घडीमा ।

‘यो केही महिनाको कार्यकालमा ठूलो परिवर्तन होइन, देशलाई सम्हालेर लैजाने जिम्मेवारी मुख्य हो’, मन्त्री बनेपछि उनले भनिन् । अब सबैको दृष्टि उनीमाथि छ—स्वास्थ्य क्षेत्रमा देखिएका संरचनागत समस्या, स्वास्थ्यकर्मीको मनोबल, सेवा विस्तार र नीतिगत सुधारमा उनका कदम कतातिर जान्छन् भन्ने प्रश्नमा । राजनीतिक दबाबकै कारण सचिव पद छोडेकी तर व्यावसायिक प्रतिबद्धताका कारण फेरि जिम्मेवारी सम्हाल्न तयार भएकी डा. सुधा शर्मा अहिले सिंहदरबारको ‘घुम्ने मेच’ मा दोहोरिएको इतिहास लेख्दै छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *