स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनका प्रभावितलाई मनोपरामर्श
काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शपथ लगतै पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए।
स्वास्थ्य क्षेत्रमा जीवनको तीन दशक बढी समय बिताएकी डा. सुधा शर्मा फेरि सिंहदरबार फर्किएकी हुन् । यस पटक सचिव होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी मन्त्री बनेकी हुन्। वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेकी डा. शर्माले कार्यकाल बाँकी छँदै राजनीतिक हस्तक्षेप र अस्वस्थ वातावरणलाई कारण देखाउँदै राजीनामा दिएकी थिइन्।
