`

मुगुमा भाइरल ज्वरोको प्रकोपबाट एक वडाका पाँचको मृत्यु, विशेषज्ञ टोली पठाउन माग

मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट १७ दिनमै एकै वडाका पाँच जनाको ज्यान गएको छ । राराछायाँनाथ–१२ बामगाउँका पाँच जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रण बाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानु दिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रण बाहिर जाने अवस्था छ । मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शैंया छन् । लामो समयदेखि एक्स–रे मेशिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्ट समेत सञ्चालनमा छैन ।

‘गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या छ’, देवकोटाले भने । युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स–रे मेशिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । हालको ५० शैंया क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शैंयामा विस्तार गर्नुपर्ने माग गरिएको छ ।

२०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला÷हैजाको महामारीको स्मरण गराउँदै युवाहरुले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने मन्त्रीसमक्ष माग गरेका छन् । ‘कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूले भनेका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् ।

‘परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छ’

काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् । आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनै पनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेटहरु विनियोजन भएका छन् । हजारौँ हाम्रा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । सयौँको संख्यामा हाम्रा चिकित्सालयहरु छन् ।’

उनले भनिन्, ‘अहिले मेरो मन्त्रालयबाट सचिव ज्यु र आयुर्वेद विभागका महानिर्देशक समेत यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । यहाँहरु कसैलाई आयुर्वेदको र परम्परागत चिकित्सा पद्धतिको बारेमा जानकारी लिनुछ भने हाम्रो आयुर्वेद विभागबाट जानकारी पाउन सक्नु हुनेछ । हाम्रो राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेका छन् ।’ मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको उनले बताइन् ।

 

मन्त्री घिसिङले गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निरीक्षण, ठेकेदारलाई कारवाहीको चेतावनी

काठमाडौँ । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक) मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए ।

उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।

 

 

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् । देशको समग्र राजश्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए ।

यसलाई एकै पटकमा सुधार गर्न नसकिने उनको भनाई छ । उनले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उनले जानकारी दिए । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ । उनले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिए । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई छ । उनले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्‍याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘फाईनान्समा गभरमेन्टको पर्समा, हाम्रो पर्सको साईज अवश्य बढेको छ, आजभन्दा १५ वर्ष अगाडि टोटल जिडिपीको १३ प्रतिशत पुर्‍याउन पनि हामीलाई गाह«ो थियो । अहिले टोटल जिडिपीको २३ प्रतिशत नजिकसम्म हाम्रो रेभिन्युवेश चाहीँ पुग्यो, अहिले झरेर १८–१९ प्रतिशत पुगेको छ । गभर्मेन्टको रिसोर्सको साईज बढ्दै जाने तर हेल्थमा, एजुकेसनमा गरिएको एलिकेशन घट्दै जानु राम्रो होइन । त्यो कमजोरी अर्थ मन्त्रालयले गर्‍यो अथवा राष्ट्रिय योजनाले गर्‍यो अथवा प्रणालीमा हामीले सहकार्य गरेर गर्न सकेनौँ । त्यो हाम्रो गल्ती भयो पछिल्लो १० वर्षमा । अब यो एकै वर्षमा एकैछिनमा करेक्शन गर्न सकिँदैन ।’

उनले भने, ‘स्वास्थ्यमन्त्री यहीँ हुनुहुन्छ, उहाँलाई मैले स्वास्थ्यमन्त्रीमा बहाली भएको दिनमा नै स्वास्थ्य बीमाको सबै भुक्तानी गरौँ भनेर उहाँलाई भने । उहाँ आउनुभन्दा अगाडि नै मैले स्वास्थ्य सचिव ज्युलाई प्रत्येक पटक भेट्दा त्यो सबै भुक्तानी गर्न आग्रह गरेँ । सरकारले प्रतिवद्धता गरेको स्वास्थ्य बीमाको बाँकी रहेको रकम चाहीँ भुक्तानी गर्नुपर्छ । सरकार भनेको निरन्तरता हो । अगाडिको सरकारले बाँकी राख्यो म तिर्न सक्दिन भनेर भन्न हुँदैन भनेर मैले भनिरहेको छु, आज नी त्यही भन्दैछु । तर हामीले धान्न नसकिने प्रमिस गरेर त्यसपछि स्वास्थ्य संस्थाहरु चाहीँ पैसा नपाएको कारणले सेवा नै दिन नसक्ने पुगे भने त्यो पनि राम्रो भएन । स्वास्थ्य संस्थाले सेवा दिनसक्ने गरी उनीहरुलाई वित्तीय पहुँच पुर्‍याउनु पर्छ । त्यो वित्तीय पहुँच पुर्‍याउने क्रममा हाम्रो स्वास्थ्य बीमा ज्यादै कमजोर छ, हामीले धान्न नसकिने किसिमको छ भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।’ उनले अर्थ मन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने बताए । यद्यपि माग्ने बित्तिकै बजेट नपाइने उल्लेख गरे । उनले राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

नेपालको बीमा दिगो छैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् ।

आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भए पनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उनको भनाई छ । ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभुत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भीड बढ्ने गरेको उनले बताइन् । अस्पतालमा हुने भीडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाई छ । उनले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताइन् । अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुर्‍याउने भन्ने ध्येयका साथ आफूहरुअघि बढिरहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो आधारभुत सेवाहरु राम्रोसँग सञ्चालन गरौँ । बीमा चाँडै नै नेपालभित्रका हाम्रा अस्पतालहरुका समस्या र बीमा बोर्डमै पनि बुझाइको कमी र समग्र नागरिकमा यो आधारभुत बीमा तलैबाट लिने हो भन्ने बुझाइको कमीले गर्दा यो अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुग्ने भन्ने हो ।’ उनले भनिन्, ‘मैले भारत लगायत अन्य देशहरुको उदाहरणहरु हेर्दैछु । ती उदाहरणबाट सिकेर पनि हामी केही न केही परिवर्तन गर्नेछौँ । हाम्रो बीमा सस्टेनेबल छैन । त्यो दिशामा जाने सोचिरहेको छु । मेरो स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा बीमा क्षेत्र पनि छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च छ । त्यसमा अत्याधिक प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको छु ।’ उनले लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै यी क्षेत्रमा अत्याधिक प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गरिन् ।

 

 

 

 

सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ : मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।

मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताइन् । सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाई थियो । उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन् ।

मन्त्री गौतमले भनिन्, ‘युवाहरु जो प्रतिनिधित्व गर्नु भएको छ । अहिलेको परिवर्तन, म मन्त्री हुन पाएको तपाईहरुकै सेवा गर्नका लागि हो । तपाईहरुकै आन्दोलनको नेपाललाई सुन्दर बनाऔँ भन्ने एउटा अठोट, भ्रष्टाचारमुक्त नेपाल बनाऔं भन्ने अठोट र हाम्रा संस्थाहरु, प्रणालीहरु सुदृढ हुन भन्ने यहाँहरुको विचार, त्यो विचारको सम्मान गर्दै हामी काम गरिराखेका छौँ । मलाई लाग्छ–हामी आफ्नो लक्ष्यमा जसरी हामी अर्जुन दृष्टि भन्छौँ नि त्यो लक्ष्यलाई हेरेर कसरी राम्रो गर्ने भनेर एकचित्त भएर लागेका छाैं । हामीलाई लागेको छ । हामी सफल हुनेछौँ ।’
मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याओस् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्‍याउनु पर्ने बताएका छन् । शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्‍याउनु पर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

आफूले यसबारेमा सार्वजनिक महत्वको प्रश्ताव नै संसदमा दर्ता गरिसकेको उनको भनाइ छ । वर्तमान सरकारले पनि यसबारेमा उचित कदम चाल्नुपर्ने उनको आग्रह छ । उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौँको संख्यामा रहेको भन्दै यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गरे । राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने बताए ।

एक हजार शैंयाको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । शुक्रवार शर्माले भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको भन्दै उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गरिएको हो । उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको उनको भनाइ छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटक विज्ञापन, परेनन् आवेदन

कैलाली । देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्थापना हुन लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दुई पटक विज्ञापन गरे पनि कुनै आवेदन प्राप्त नभएको विश्वविद्यालय सञ्चालन प्रक्रियालाई चुनौती बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उपकुलपति पदका लागि आवश्यक योग्यता पुगेका व्यक्तिबाट आवेदन नआएको जनाएका हुन् ।

उनका अनुसार स्वास्थ्य सेवामा कम्तीमा १० वर्ष प्राध्यापक (प्रा.डा.) तहमा कार्यअनुभव रहेको इच्छुक नियुक्त गर्न दुई पटक सार्वजनिक सूचना निकालिए पनि एक जनाले पनि आवेदन नदिँदा पद खाली नै रहेको छ । मन्त्री पुनले योग्य तथा इच्छुक व्यक्तिहरूलाई विश्वविद्यालयको नेतृत्व सम्हाल्न पुनः आह्वान गर्दै मातृभूमिका लागि योगदान दिने भावना बोकेका स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तिहरूलाई अघि आउन आग्रह गरेका छन् । उनले आवश्यकता परे आफूलाई प्रत्यक्ष सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

यसअघि २०७३ सालमै करिब ८ अर्ब ११ करोड लागत अनुमानसहित कैलालीको गेटामा मेडिकल कलेज निर्माण थालिएको थियो । भव्य पूर्वाधार तयार भए पनि लामो समय प्रयोगविहीन बनेपछि सरकारले ती संरचनालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपयोग गर्ने निर्णय गरेको हो ।

गत जेठमा सम्बन्धित विधेयक संघीय संसद्बाट पारित भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने स्पष्ट उल्लेख गरिएको छ । तर उपकुलपति नखोजिएको अवस्थाले विश्वविद्यालय प्रारम्भिक चरणमै नेतृत्व अभावको चुनौतीमा परिरहेको देखिन्छ । शिक्षा मन्त्रालयले उपकुलपतिका लागि गत कात्तिक १६ गते पहिलो र मंसिर ५ गतेसम्मका लागि दोस्रोपटक आवेदन माग गरेको थियो ।

वीर अस्पतालको सेवा निजी भन्दा कम छैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनै पनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएकी छन् । सोमवार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनै पनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरिन्।

आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमले दावी गरिन् । मन्त्री गौतमले लामो समय सेवा दिएर वीर अस्पताल थकित वृद्ध रोगी जस्तो भएको अवस्थाबाट जेनजी पुस्ता जसरी जुर्मुराएर उठेर राम्रो सेवा दिएको आफूले पाएको समेत बताइन् । त्यस अवसरमा उनले वीर अस्पतालका लागि आवश्यक नर्सहरूको व्यवस्था गर्न आफू लागिपर्ने आश्वासन समेत दिइन् ।

मन्त्री गौतमले भनिन् ‘पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैँ पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेनजी जसरी आफै पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ । त्यसकारण तपाईहरू सबै जनाले निर्धक्क भएर सेवा लिने वातावरण यहाँ रहेछ । त्यसकारण सो सेवा लिन हुन भनेर म यहाँ आएका मिडियाहरूमार्फत सबैलाई भन्न चाहन्छु । मेरो यत्रो वर्षको मेडिकल ज्ञानको आधारमा म के भन्न चाहन्छु भने बाहिरको कुनै पनि निजीको सेवा भन्दा यहाँको सेवा कम छैन । त्यसकारण निर्धक्क भएर हाम्रो देशको निम्न वर्ग र निम्न मध्यम वर्गले यो सेवा लिनु भयो भने यहाँहरूको जीवन धेरै नै सहज हुनेछ ।’

मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताइन् । उनले प्रादेशिक अस्पतालहरूको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नु होला : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । सोमवार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उनले सो आग्रह गरेकी हुन् । शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराइन् ।

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरिन् । उनले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुरीति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । त्यस क्रममा उनले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत व्यक्त गरिन् ।

मन्त्री गौतमले भनिन्, ‘बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । जसले सरकारको विरोध गर्नु हुन्छ, चुनाव भाँड्न खोज्नु हुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म के थियो भने यी कुरीति, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन—जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् । —न्युज एजेन्सी नेपाल

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनका प्रभावितलाई मनोपरामर्श

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शपथ लगतै पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए।

स्वास्थ्य क्षेत्रमा जीवनको तीन दशक बढी समय बिताएकी डा. सुधा शर्मा फेरि सिंहदरबार फर्किएकी हुन् । यस पटक सचिव होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी मन्त्री बनेकी हुन्। वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेकी डा. शर्माले कार्यकाल बाँकी छँदै राजनीतिक हस्तक्षेप र अस्वस्थ वातावरणलाई कारण देखाउँदै राजीनामा दिएकी थिइन्।

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, आजै वैठक

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा अनुप बाँस्तोला सदस्य छन् । यस्तै चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख पनि सदस्य छन् ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्। प्रधानमन्त्री कार्कीसँग स्वास्थ्य मन्त्रालय पनि आफैसँग छ । समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

‘भोलिदेखि तिहार बिदा छ । धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको चाप हुन्छ । त्यसैले आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने कोशिसमा छौँ,’ डा देवकोटाले भने, ‘काममा फर्किनका लागि हाम्रो आह्वान पनि छ ।’ डा. देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ । तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ ।

गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि पनि सदस्य छन्।नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन, आन्दोलनरत नर्सका प्रतिनिधि पनि समितिमा रहेका छन् । स्वास्थ्य मन्त्रालयकै चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । नर्सहरुले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने माग गरिरहेका छन् । अहिले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ ।

समितिको कार्यादेशः
१. निजी तथा सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्गरस्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा तलब सुविधा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य निकायबाट भएका परिपत्र एवं प्रतिवेदनहरुको आधार लिने र विश्लेषण गर्ने ।

२. निजी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा नर्सिङ लगायतका स्वास्थ्यकर्मीहरुको मर्यादित श्रम तथा सुविधाका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरकारी सरह न्यूनतम तलब भत्ता प्रदान गर्न पटकपटक भएका निर्देशन, परिपत्रहरुको हालसम्म कार्यान्वयन नभएकाले सोको यथाशीघ्र कार्यान्वयन गर्न सहमति कायम गर्ने ।

३. यस किसिमका समस्याहरु बारम्बार आईरहेको परिप्रेक्ष्यमा दिर्घकालीनरुपमा यस समस्याको समाधान गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालयहरुले गर्नुपर्ने कार्यको लागि राय सुझाव र कार्ययोजना प्रतिवेदन पेश गर्ने ।

मुटु र दाँतको दुस्मन चिनी

काठमाडौं । चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ ।

करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पथ्र्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले ।

सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्‍याउँछ ।

सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले ।

चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्नेे क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ ।

यो कुरा प्रकाशमा आएपछि विशेष गरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे ।

चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो ।

कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ ।

परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ ।

त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, पु्रmटी, एपी, सर्बत, लस्सी आदि चिसा पेय पदार्थहरुमा अधिक मात्रामा चिनी मिश्रण हुन्छ ।

चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ ।

एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ ।

मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुने बित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ ।

त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ ।
डा– अरुणा उप्रेती–लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् ।

 

स्वास्थ्यमन्त्री बन्न लागेकी संगीताविरुद्ध बिचौलियाले निराधार आरोप लगाए : अमरेश सिंह

काठमाडौं । निवर्तमान सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री सिफारिस भएर पनि सूचीबाट हटाइएकी डा. संगीता मिश्रलाई स्वास्थ्य सेवा विभागका ‘बिचौलियाहरूले निराधार आरोप लगाएको’ टिप्प्णी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्रको नाम पनि थियो । तर मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको छ ।

स्वास्थ्यमन्त्री पदको शपथ खाने दिन मिश्रको नाम काटिएको छ । जसले गर्दा आज दिउँसो २ बजे शीतल निवासमा मिश्रबाहेक अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) ले मात्र शपथ खाने भएका छन्र ।

‘स्वास्थ्यमन्त्री बन्न लागेकी डा. संगीता मिश्रमाथि स्वास्थ्य सेवा विभागमा वर्षौँदेखि रजगज चलाएका केही थान बिचौलियाहरूले निराधार आरोप लगाएका छन्’, निर्वतमान सांसद सिंहले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभागमा वर्षौँदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरूको निदहराम गरेबापत नै संगीता मिश्रलाइ सचिव बन्नबाट रोकेको थियो ।’

‘आज फेरि त्यही सलबलाएका छन् र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरू लगाएका छन् । डा. संगीता एक कुशल नेतृत्वकर्ता हुन् । उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्थिन् । उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अतालिएका छन्,’ सिंहले थप लेखेका छन् ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् । उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

 

 

संगीता मिश्र स्वास्थ्य मन्त्री बन्दै

काठमाडौं । सचिवमा बढुवा नगरिएपछि बिदामा रहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र सोही मन्त्रालयमा मन्त्री भएर आउने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन् ।

 

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले अस्थायी व्यवस्थापनका ठाउँ खोज्ने क्रममा रहेको जनाएको छ । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । दैनिक कामकाजमा बाधा पुगेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बतए । उनले भने, ‘भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थान्तरण गर्ने कार्य सम्भव नै भएन ।’

सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रुपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थान्तरण गर्ने विचार गरिएको छ ।

मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए । ‘हामी कर्मचारीहरु त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ’, उनले भने ।

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । ‘इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ’, डा. देवकोटाले भने ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् ।

 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिंदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,’ उनले भने, ‘राजीनामा दिँदैछु ।’ अहिले कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक, कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् ।

जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौं जनामा डेङ्गी संक्रमण पुष्टि

नवलपरासी । जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए ।

उनका अनुसार विगत डेढमहिनाका अवधिमा उनीहरुको मृत्यु भएको हो । संक्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानीज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गीरोग संक्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानीज इन्सेफ्लाइटिस् र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ । जापानीज इन्सेफलाइटिस् तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता संक्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ । एडिस एजिप्टी प्रजातिको लामखुट्टेले संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा संक्रमण फैलिने निमित्त प्रमुख शर्माले बताए ।

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि संक्रमितको मृत्यु हुनसक्छ । जापानीज संक्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने बेहोस हुने, मृत्यु समेत हुनसक्छ डाक्टर होदाले बताए ।

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप : तीन कैदीको मृत्यु, सयौं बिरामी

काठमाडौं । सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा कैदीबन्दीबीच फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणका कारण थप एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव छन् । बुधबार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । उपचारकै क्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि दुई कैदीको मृत्यु भइसकेको थियाे । मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राई थिए । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भयो । त्यस्तै, राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा सोमबार बिहानै उनको पनि ज्यान गएको हो ।

जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल कारागारमा स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । बुधबार रातिदेखि सञ्चालन भएको शिविरअन्तर्गत दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिएका छन् ।

बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको छ । रिपोर्ट आएपछि बिरामीको कारण स्पष्ट हुने उनले बताए । हाल झुम्का कारागारका ए र बी गरी दुई ब्लकमा १,७९४ जना कैदी रहेका छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

दृष्टिदान: एक आँखाले दिन सक्ने दुई जीवन

स्याङ्जा । स्याङ्जाका बेकबहादुर राना मगर दुबईमा काम गर्थे। अचानक उनको दृष्टि धमिलो भयो । उपचार भए पनि उनको दृष्टि फर्किएन । “नेपालमा राम्रो आँखा बैंक छ” भन्ने सुनेर उनी फर्किए। उनले अहिले संसार देख्न पाएका छन् । आँखा प्रत्यारोपणपछि उनले पहिलोपटक फेरि उज्यालो देखे। उनी भन्छन्, “म फेरि देख्न सक्छु। अब जीवनका प्रत्येक क्षण महसुस गर्न सक्ने छु। दाता परिवारको योगदानले मेरो जीवन बदलिदियो।”

त्यस्तै, बंगलादेशकी बिल्किस परविन आँधी–आन्दोलनमा टियर ग्यासको असरले अन्धोपनमा परेकी थिइन्। उनका पति डा. ए. एन. एम. फजलुल करिम भन्छन्, “नेपालका चिकित्सक र यहाँका जनताको सहयोगले हाम्रो जीवन बदलिदियो। यो अनुभव हाम्रो परिवारका लागि अविस्मरणीय छ। मेरो श्रीमतीको जीवन फेरि उज्यालो भएको छ। दाताप्रति हाम्रो आभार शब्दमा व्यक्त गर्न सक्दैनौँ।”

नेपाल आँखा बैंक उनीहरुलाई संसार देखाउने माध्यम बनेको छ । यहाँ मृत्युपछि पनि अरूको जीवनमा उज्यालो फर्काउने कथा छ।

दृष्टिदान संवेदनशील प्रक्रिया हो। प्रशिक्षित काउन्सिलर मृतकको परिवारसँग गएर आँसु बगाउँदै सम्झाउँछन्—“तपाईंको दान अरूको जीवन उज्यालो बनाउँछ।” कतिपयले उनीहरूलाई अपमान गर्ने, गलत बुझ्ने गर्दछन्—“अंग व्यापारी” वा “अशुद्ध काम” भन्ने शब्द सुन्नुपर्छ।

किरण सुब्बा भन्छन्, “एक आँखाबाट दुई जनालाई दृष्टि दिन सकिन्छ। यसले केवल आँखामा उज्यालो फर्काउँदैन, जीवन नै परिवर्तन हुन्छ।” काउन्सिलरहरूले परिवारलाई बुझाउँछन् कि मृत्युपछि पनि मानिसले अरूको जीवनमा उज्यालो फैलाउन सक्छ। यो भावनात्मक काम कहिलेकाहीँ उनीहरूको लागि अत्यन्तै चुनौतीपूर्ण हुन्छ, तर उनीहरू आफ्नो जिम्मेवारीमा अडिग रहन्छन्।

जब परिवारले सहमति दिन्छ, प्राविधिक टोलीले मानक प्रक्रियाअनुसार कोर्निया निकाल्छ। त्यो प्रक्रिया केवल तकनीकी काम होइन, यो जीवन दिने यात्रा हो। निकालिएको कोर्निया सुरक्षित तापक्रममा राखिन्छ र परीक्षणपछि योग्य भए बिरामीमा प्रत्यारोपण गरिन्छ।

किरण सुब्बा भन्छन्, “DSAEK सर्जरीमार्फत एउटै आँखाबाट दुई जनाले उज्यालो पाउँछन्। यस्तो क्षणमा तपाईं देख्नुहुन्छ, अन्धोपनको अन्धकार हट्छ, जीवन फेरिन्छ।”

कोर्नियाको मुख्य स्रोत अस्पतालहरू हुन्। काठमाडौँका शिक्षण, गंगालाल, पाटन र वीर अस्पतालसँग सहकार्य छ। बाहिर मेची, विराटनगर, पोखरा, लुम्बिनी, भैरहवा, कैलाली र वीरगञ्जमा Eye Retrieval Centre सञ्चालनमा छन्।

तर माग र आपूर्तिबीच ठूलो अन्तर छ। वार्षिक आवश्यकताः सात हजार, उपलब्धः झण्डै १७००। सबैभन्दा ठूलो चुनौती भने सरकारको बेवास्ता र समाजमा अझै फैलिएका भ्रान्ति र डर हुन्।

नेपाल आँखा बैंकको काम केवल चिकित्सा नभई मानवताको कथा हो। मृत्युपछि अरूको जीवनमा उज्यालो बोक्ने यात्रामा, काउन्सिलर, प्राविधिक र डाक्टरहरूको सहयोग अद्भुत छ। उनीहरूले देखाउँछन्, जब सहयोग र संवेदना जोडिन्छ, दृष्टिहीन व्यक्तिले मात्र होइन, सम्पूर्ण समाजले उज्यालो अनुभव गर्छ।

यद्यपि आँखा बैंकले धेरै उपलब्धि हासिल गरिसकेको छ, जागरूकता अझै कम छ। “आजका बालबालिका भोलिको समाज बनाउँछन्। दृष्टिदान महादान हो भन्ने शिक्षा विद्यालयबाट सुरु हुनुपर्छ,” काउन्सिलरहरू भन्छन्।


नेपाल आँखा बैंकको कथा देखाउँछ, मृत्युपछि पनि जीवनमा उज्यालो बोक्ने क्षमता हामीसँग छ। केवल आँखामा होइन, आशा र आत्मविश्वासमा पनि।