सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ : मन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।
मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताइन् । सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाई थियो । उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन् ।
मन्त्री गौतमले भनिन्, ‘युवाहरु जो प्रतिनिधित्व गर्नु भएको छ । अहिलेको परिवर्तन, म मन्त्री हुन पाएको तपाईहरुकै सेवा गर्नका लागि हो । तपाईहरुकै आन्दोलनको नेपाललाई सुन्दर बनाऔँ भन्ने एउटा अठोट, भ्रष्टाचारमुक्त नेपाल बनाऔं भन्ने अठोट र हाम्रा संस्थाहरु, प्रणालीहरु सुदृढ हुन भन्ने यहाँहरुको विचार, त्यो विचारको सम्मान गर्दै हामी काम गरिराखेका छौँ । मलाई लाग्छ–हामी आफ्नो लक्ष्यमा जसरी हामी अर्जुन दृष्टि भन्छौँ नि त्यो लक्ष्यलाई हेरेर कसरी राम्रो गर्ने भनेर एकचित्त भएर लागेका छाैं । हामीलाई लागेको छ । हामी सफल हुनेछौँ ।’
मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।
