`

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटक विज्ञापन, परेनन् आवेदन

Nepal One HD १९ मंसिर २०८२ १०:३७
प्रमुख खबर

कैलाली । देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्थापना हुन लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दुई पटक विज्ञापन गरे पनि कुनै आवेदन प्राप्त नभएको विश्वविद्यालय सञ्चालन प्रक्रियालाई चुनौती बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उपकुलपति पदका लागि आवश्यक योग्यता पुगेका व्यक्तिबाट आवेदन नआएको जनाएका हुन् ।

उनका अनुसार स्वास्थ्य सेवामा कम्तीमा १० वर्ष प्राध्यापक (प्रा.डा.) तहमा कार्यअनुभव रहेको इच्छुक नियुक्त गर्न दुई पटक सार्वजनिक सूचना निकालिए पनि एक जनाले पनि आवेदन नदिँदा पद खाली नै रहेको छ । मन्त्री पुनले योग्य तथा इच्छुक व्यक्तिहरूलाई विश्वविद्यालयको नेतृत्व सम्हाल्न पुनः आह्वान गर्दै मातृभूमिका लागि योगदान दिने भावना बोकेका स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तिहरूलाई अघि आउन आग्रह गरेका छन् । उनले आवश्यकता परे आफूलाई प्रत्यक्ष सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

यसअघि २०७३ सालमै करिब ८ अर्ब ११ करोड लागत अनुमानसहित कैलालीको गेटामा मेडिकल कलेज निर्माण थालिएको थियो । भव्य पूर्वाधार तयार भए पनि लामो समय प्रयोगविहीन बनेपछि सरकारले ती संरचनालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपयोग गर्ने निर्णय गरेको हो ।

गत जेठमा सम्बन्धित विधेयक संघीय संसद्बाट पारित भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने स्पष्ट उल्लेख गरिएको छ । तर उपकुलपति नखोजिएको अवस्थाले विश्वविद्यालय प्रारम्भिक चरणमै नेतृत्व अभावको चुनौतीमा परिरहेको देखिन्छ । शिक्षा मन्त्रालयले उपकुलपतिका लागि गत कात्तिक १६ गते पहिलो र मंसिर ५ गतेसम्मका लागि दोस्रोपटक आवेदन माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *