झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप : तीन कैदीको मृत्यु, सयौं बिरामी


काठमाडौं । सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा कैदीबन्दीबीच फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणका कारण थप एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव छन् । बुधबार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार पनि दुई कैदीको मृत्यु भइसकेको थियाे । मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राई थिए । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।
उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भयो । त्यस्तै, राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा सोमबार बिहानै उनको पनि ज्यान गएको हो ।
जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल कारागारमा स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । बुधबार रातिदेखि सञ्चालन भएको शिविरअन्तर्गत दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिएका छन् ।
बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको छ । रिपोर्ट आएपछि बिरामीको कारण स्पष्ट हुने उनले बताए । हाल झुम्का कारागारका ए र बी गरी दुई ब्लकमा १,७९४ जना कैदी रहेका छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।