`

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

Nepal One HD २८ भदौ २०८२ १६:२६
प्रमुख खबर

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले अस्थायी व्यवस्थापनका ठाउँ खोज्ने क्रममा रहेको जनाएको छ । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । दैनिक कामकाजमा बाधा पुगेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बतए । उनले भने, ‘भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थान्तरण गर्ने कार्य सम्भव नै भएन ।’

सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रुपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थान्तरण गर्ने विचार गरिएको छ ।

मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए । ‘हामी कर्मचारीहरु त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ’, उनले भने ।

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । ‘इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ’, डा. देवकोटाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *