मन्त्री घिसिङ पुगे भारतमा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारत पुगेका छन् । मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावासका राजदूत शंकर शर्मा र भारत सरकार बिदेश मन्त्रालयका नर्दन डिभिजनका डेपुटी सेक्रेटरी तुसारन्शु शर्माले स्वागत गरेका छन् । मन्त्री घिसिङ आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् । ४० बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।
आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने छन् ।
