बालुवाटार वार्तामा जेनजी अगुवा नै ‘विभाजित’
काठमाडौं । जेनजी अगुवाबीच नै मुलुकको शासन प्रणालीको विषयमा मतभेद पनि देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार भएको राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफलमा यस्तो मतभेद देखिएको हो । सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार राति अबेरसम्म वार्ता भएको थियो ।
छलफलका क्रममा प्रधामन्त्री कार्कीले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेकी थिइन् । छलफलका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी र संघीयता खारेजी विषय उठेपछि जेन्जी अगुवाबीच नै मतभेद देखिएको हो । छलफलका क्रममा राप्रपाका नेता मोहन श्रेष्ठले संविधान खारेज गर्ने विषय उठाएका थिए ।
जेनजीका तर्फबाट सुरुमै बोलेका मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने र संघीयता खारेजी हुनुपर्ने माग राखेका थिए । जेनजीका प्रतिनिधि उपार्जुन चाम्लिङले सडकका माग सम्बोधन गर्ने नाममा संविधान फाल्नु नहुने कुरा बैठकमा उठाएको जानकारी दिए । उनले जेनजीले उठाएका मागहरू संविधानकै दायराभित्र पूरा गर्न सकिने तर्क गर्दै भने, ‘संविधान फ्याँकिए ठूलो राजनीतिक अस्थिरता र अनिश्चितता सिर्जना हुनेछ ।’
उनका अनुसार, अहिलेको आन्दोलनको म्यान्डेट संविधान फाल्नका लागि होइन, बरु यसको प्रभावकारी कार्यान्वयनका लागि हो । उनले भने, ‘भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, सुशासन कायम गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने जस्ता मुद्दाको कार्यान्वयनका लागि संविधान किन बाधक हुनुपर्यो ?’ चाम्लिङले संघीयता रहर वा करका कारण नभई मुलुकको आवश्यकता अनुरूप आएको प्रणाली भएको उल्लेख गर्दै यसलाई अझ सुदृढ र प्रभावकारी बनाउन छलफल गर्न सकिने बताए । तर, संविधान फाल्ने कुरा जेनजी आन्दोलनको म्यान्डेटमा नपर्ने भन्दै उनले त्यसप्रति कडा आपत्ति जनाए । ‘संघीयता खारेज गर्न खोजिए कोशी प्रदेशबाट मात्रै १० लाख मानिस काठमाडौँ आएर आन्दोलन गर्नेछन्,’ राईले भने, ‘त्यतिबेला सरकारले थेग्न सक्दैन ।’ जेनजीका तर्फबाट बोलेका अन्यले पनि राईको भनाइमा समर्थन जनाएका थिए ।
त्यस्तै, अर्की जेन–जी प्रतिनिधि रक्षा बमले पनि संविधान नचलाइ आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउनु पर्ने बताइन् । उनले संविधानकै चौकटीभित्र रहेर सुशासन कायम गर्न सकिने भन्दै दलहरूलाई समयमै निर्वाचन गरेर अघि बढ्न आग्रह गरिन् । वार्तामा जेनजीबाट ढुंगाना र चाम्लिङसहित रक्षा बम, मोनिका निरौला, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी थिए ।
