संविधानले यो सरकारलाई चिन्दैन, विघटित संसद सर्वोच्चले पुनर्स्थापना गर्छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीहरूसँगको संवादमा उनले सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसदले नचिनेको बताए ।
उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौं ।’ उनले संवैधानिक परीक्षणमा अहिलेको सरकार खरो उत्रिन सम्भव नभएको जिकिर गरे । उनले कांग्रेस बैठकबाट बाहिर निस्केपछि साझा धारणा बनेर मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बताए ।
‘मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले इतिहासकै ठूलो जनसभा गर्ने जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिए ।
‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने । यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन ¥याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्ने जानकारी गराए । उनले थप भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’
