दुई भूभागको कथा : नेपाल र सिसिलीबीचको मानवीय सम्बन्धको फोटोग्राफिक संवाद
काठमाडौं । नेपाल पर्यटन बोर्डको आँगन सोमबार बिहान सिसिली र नेपालको कथा एकै ठाउँमा जोडिएको दृश्यले रंगियो। “A Tale of Two Lands: Nepal Meets Sicily” शीर्षकको फोटोग्राफी प्रदर्शनीले दुई फरक भूभागबीचको सांस्कृतिक आत्मीयता र साझा मानव अनुभवलाई एकै फ्रेममा बाँध्ने प्रयास गरेको हो।
यो प्रदर्शनी इटालीकी फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेको परियोजना हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन नेपाल पर्यटन बोर्डले आयोजना गरेको समारोहमा अग्रज फोटो पत्रकार गोपाल चित्रकारले गरे ।
भ्यालेन्टिना सिसिलीकी हुन्, तर नेपाल उनको दोस्रो घरजस्तै भइसकेको महसुस गर्छिन्। पहिलो पटक नेपाल आइपुग्दा उनलाई आफ्नै गाउँ सम्झना आयो। “नेपालका गाउँ र मानिसहरू हेर्दा मलाई मेरो सिसिलीका गाउँ सम्झिए। यहाँको आत्मीयता, सरलता र समुदायको न्यानोपन मलाई घरको महसुस गरायो,” उनले भनिन्। त्यही अपनत्वले उनलाई नेपाल र सिसिलीबीचको समानता फोटोग्राफीमार्फत देखाउने प्रेरणा दियो।
“मेरो देशका मानिसहरू नेपालबारे थोरै मात्र जान्थे- प्रायः हिमालका समाचार मात्र। म चाहन्थेँ उनीहरूले यहाँका मानिस र संस्कृतिको सुन्दरता पनि बुझून्,” उनी भन्छिन्। “त्यसरी नै म सिसिलीका सुन्दर पक्षहरू पनि नेपालमा देखाउन चाहन्छु। माफियाको छविभन्दा टाढा, सिसिली पनि प्रेम, कला र समुदायको भूमी हो।”
फोटोग्राफीमार्फत उनी दुई संस्कृताबीच “पुल” बनाउन खोज्छिन्। “फोटोले भाषा नबोली पनि कुरा गर्छ,” उनले भनिन्। “यो मानिसहरूलाई जोड्ने सबैभन्दा सरल तरिका हो। तर हामीले ख्याल राख्नुपर्छ कि हामी कुनै ठाउँको कथा एकै दृष्टिकोणबाट मात्र नदेखाउँ, बरु उसको विविधता पनि बुझाउँ।”
नेपालका उत्सव, जात्रा र पारिवारिक सम्बन्धहरूले उनलाई सिसिलीको समाजसँगको समानता देखाए। “यहाँका मानिसहरूको आतिथ्य म सिसिलीका मानिसहरूमा पनि देख्छु। सबैले तपाईंलाई खुवाउन खोज्छन्, तपाईं ठीक हुनुहुन्छ कि छैन भनेर सोध्छन् – यो प्रेम र माया नै दुवै ठाउँको साझा भावना हो,” उनी हाँस्दै भन्छिन्।
भ्यालेन्टिनाका तस्बिरहरूमा सिसिलीको समुद्र र नेपालका पहाडहरूबीचको भावनात्मक साम्यता झल्किन्छ। उनी भन्छिन्, “म चाहन्छु, मेरा तस्बिरहरूले दर्शकमा जिज्ञासा, शान्ति र खुसीको भावना जगाओस्।”
फोटोग्राफी उनको लागि केवल कलात्मक अभ्यास होइन, सांस्कृतिक आदान-प्रदानको माध्यम हो। “पहिलो पटक नेपाल आउँदा सबथोक नयाँ थियो, तर हरेक पटक फर्कंदा म यहाँका मानिसहरूलाई अझ गहिरो रूपमा बुझ्दै गएँ,” उनी भन्छिन्। “अब मेरा तस्बिरहरूमा त्यो आत्मीयता, त्यो सम्बन्ध झल्किन्छ।”
नेपाल पर्यटन बोर्डमा आयोजित प्रदर्शनी नोभेम्बर ३ देखि ५ (कात्तिक १७–१९) सम्म, बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म खुला रहनेछ। दुई भूभागका कथाहरूलाई एउटै दृश्यमा बाँध्ने भ्यालेन्टिनाको उद्देश्य सरल छ – “दुई देशबीच पुल बनाउने”।
“यदि मलाई यो प्रदर्शनीलाई एउटा शब्दमा भन्नुपर्यो भने म भन्छु – ‘पुल’। संस्कृतिहरू, मानिसहरू र कथाहरूलाई जोड्ने पुल,” उनले मुस्कुराउँदै भनिन्।




