जेनजी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्यो : सन्तोष परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले जेनजी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताएका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अमुक जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेनजी विद्रोहले खारेज गरिदिएको पनि बताए।
उनले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिए । उनले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राखे । उनले जेनजी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसात गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताए ।
उनले भने, ‘जेनजी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ । कुशासनलाई खारेज गरेको छ । नातावादलाई खारेज गरेको छ । कृपावादलाई खारेज गरेको छ । अमुक जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ । यी कुराहरुलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने कुरामा दलहरु चनाखो हुनुपर्छ ।’
उनले भने, ‘अहिले हाम्रो तथ्यले नै हामीलाई बर्बाद पारिरहेको छ । यो देश कुनै पनि जाति र समुदायको बहुमत भएको देश होइन । तर एउटै जाति, एउटै समुदाय र एउटै लिंगका मानिसहरु बारम्बार राज्य सत्तामा भइरहेका कारण पनि जेनजी विद्रोह भएको हो । त्यसकारण आज जेनजी आन्दोलनले मुलुकमा जुन वातावरण सिर्जना गरेको छ । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनले स्थापित गरेका एजेण्डालाई आत्मसात गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको छ । हामी जेनजी आन्दोलनको मर्म र मागअनुसार नै पार्टीलाई अगाडि बढाउँछौं ।’ उनले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेनजी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताए ।
