प्रचण्ड–माधवलाई वामदेवको प्रश्न : प्रधानमन्त्री हुँदा किन समाजवादको प्रयास भएन ?
काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै जेनजी आन्दोलन भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनमा उनले समाजवाद मात्रै भनेर नहुने बताए । ‘समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नु पर्छ । तब मात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु’, उनले भने ।
संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्ने उनको भनाइ छ । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताए । उत्पादनमा आधारित कम्युनिष्ट पार्टी निर्माण हुनुपर्ने बताए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए । नेता गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन् । ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ । आज कति वर्ष भयो ? हामी कति पटक प्रधानमन्त्री भयौं ? हामीले कति पटक प्रधानमन्त्री–मन्त्री बनायौं ?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला ।’
उनले संविधानमा लेखिएका कुरा लागू नगर्ने र नलेखिएका विषयमा धेरै कुरा गर्ने गरिएको भन्दै नेताहरूको आलोचना गरे। उनले नेताहरूसँग समाजवादी क्रान्तिको परिभाषा समेत मागे । ‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् । यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिष्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् । ‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।
