नयाँ राजनीतिक लहर : १८ दल दर्ताको पर्खाइमा, ३० कात्तिकभित्र प्रमाणपत्र लिनैपर्ने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशमा फेरि राजनीतिक हलचल बढेको छ । निर्वाचन आयोगमा अहिले नयाँ दल दर्ताको चहलपहल निकै तातिएको छ । जहाँ हालसम्म १८ वटा नयाँ राजनीतिक दल दर्ताको पर्खाइमा छन् ।आयोगका अनुसार, यी सबै दललाई अब ३० कात्तिकभित्र दर्ता प्रमाणपत्र लिनुपर्ने बाध्यता छ, अन्यथा उनीहरू निर्वाचन प्रयोजनका लागि सहभागी हुन बञ्चित हुनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, पछिल्लो पटक आयोगमा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ पार्टीले दर्ताको निवेदन दिएको छ । यो पार्टी १० वाम घटकहरूको एकताबाट बनेको हो । जसमा साविकका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पनि सहभागी छन् । नयाँ पार्टीले पाँचकुने तारा आफ्नो चुनाव चिन्हका रूपमा रोजेको छ ।
निर्वाचन नजिकिँदै, दल दर्ताको भीड बढ्दै
‘जेन–जी आन्दोलन’ अघि आयोगमा नौ दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि थप नौ दल थपिएका छन् । यसरी अहिले आयोगमा १८ नयाँ दलको निवेदन अध्ययनमा छ । आयोगमा अहिलेसम्म १२५ दल दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने १२४ दल अद्यावधिक अवस्थामा छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ देखि १० गतेसम्म तय गरिएको छ । त्यसअघि सबै दलले कात्तिक ३० सम्म दर्ता प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्नेछ ।
निर्वाचन आयोगको समयरेखा
कात्तिक ३० – दल दर्ता प्रमाणपत्र लिन अन्तिम म्याद
मंसिर १–१० – निर्वाचन प्रयोजनका लागि दल दर्ता
मंसिर १५ – समानुपातिक निर्वाचन प्रणालीका लागि कार्यालय स्थापना
पुस १८–१९ – बन्दसूची पेश गर्ने मिति
फागुन ३–१८ – प्रचारप्रसार अवधि
फागुन २१ – मतदान (बिहान ७ देखि बेलुका ५ सम्म)
दर्ताका लागि आवश्यक कागजात
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दर्ताका लागि दलले प्रस्तुत गर्नुपर्ने प्रमुख कागजातहरू यस्ता छन् :
–दलको विधान, नियमावली र घोषणापत्र दुई–दुई प्रति
–झण्डा, लोगो, चुनाव चिन्ह
– केन्द्रीय समिति, पदाधिकारी र ठेगाना
–आय स्रोत र कोष सम्बन्धी विवरण
–लोकतान्त्रिक र समावेशी व्यवस्था उल्लेख भएको विधान
–केन्द्रीय पदाधिकारीहरूको नागरिकता प्रतिलिपि र हस्ताक्षर
नयाँ पुस्ता र पुराना अनुहार
दल दर्ताको यो दौडमा पुराना राजनीतिक अनुहारहरूसँगै नयाँ पुस्ताको प्रवेश पनि देखिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’, रेशमलाल चौधरी, र हर्क साम्पाङ जस्ता चिनिने नामहरूसँगै केही जेन–जी युवाहरू र स्थानीय जनप्रतिनिधिहरू पनि नयाँ दल गठनमा सक्रिय छन् । कतिपय विश्लेषकहरू भन्छन्, ‘यो चुनाव पुराना पार्टीहरूको प्रभुत्वलाई चुनौती दिने नयाँ पुस्ताको राजनीतिक परीक्षण हुनेछ ।’ निर्वाचन आयोगको ढोका नयाँ र पुराना दुवै राजनीतिक आकांक्षीहरूले भरिँदै गर्दा, अबको १० दिनभित्र दर्ता प्रमाणपत्र लिने वा दलको सपना स्थगित हुने दुवै सम्भावना खुला छन् । फागुन २१ को मतदान केवल जनताको मतको उत्सव मात्र होइन, पुरानो र नयाँ पुस्ताबीचको राजनीतिक टक्कर पनि बन्ने संकेत देखिन थालेको छ ।
